हजारौको सहभागीतामा दाङ महोत्सवको उद्घाटन
March 04, 2016
दाङ, २१ फाल्गुन ।। दाङ जिल्ला उद्योग वाणीज्य संघको आयोजनामा आजदेखी घोराहीमा दाङ ब्यापारिक तथा पर्यटन महोत्सव तथा मध्यपश्चिम औद्योगिक कृषि मेला सुरु भएको छ । मेला दाङ उद्योग वाणिज्य संघले आयोजना गरेको हो । आगामी ३० गते सम्म चल्ने मेलाको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. युवराज खतिवडाले आज शुक्रवार उद्घाटन गर्नुभएको हो । महोत्सवको उद्घाटन गर्दै खतिवडाले दाङमा धेरे क्षेत्रको सम्भावना भएकाले त्यसतर्फ लाग्न जिलाबासीहरुलाई अनुरोध गर्नुभयो । उहाँले दाङको विकासकालागी आफू सधै दंगालीमाझ भएको भन्दै हरेक क्षेत्रमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । साथै दाङ जिल्ला उद्योग वाणीज्य संघले निर्माण सुरु गरेको बहुउद्धेश्यीय सभागृहकोलागी पनि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
`उद्घाटन कार्यक्रमका अवसरमा हेलिकोप्टरबाट पुष्पवृष्टि गरिएको थियो । यस्तै उद्घाटनको समयमा लक्ष्मीपुरको जसपुर सवारीकोटबाट प्याराग्लाईडिङ उडाईएको थियो । घोराही ५ नवलपुरमा सञ्चालीत महोत्सब उद्घाटन पूर्व घोराही बजारमा शोभायात्रा निकालिएको थियो । विभिन्न सांस्कृतिक झाँकीहरुले बजार गुन्जायमान बनेको थियो । आजको शोभायात्रामा १ सय ३९ संघसंस्थाहरुको उत्साहजनक सहभागीता रहेको थियो । जसमा ३८ संघसंस्था झाँकी सहित, ४२ संघसंस्था भेषभुषासहित, २८ विद्यालय व्यानर सहित सहभागी भएको शोभायात्रा व्यवस्थापन उपसमितिका संयोजक नरेश कार्कीले जानकारी दिनुभयो । कर्मचारी मिलनकेन्द्रको दक्षीणतर्फको मैदानबाट सुरु भएको शोभायात्रा तुल्सीपुर चोक, दामोदर चोक, बालमन्दिर, त्रिभुवन पार्क, आर्मी व्यारेक, नयाँ बजार, दुरसञ्चार, निमा हल रोड, ट्राफिक चोक हुदै महोत्सव स्थलमा गएको थियो । शोभायात्राको अघिल्लो भाग महोत्सव स्थलमा पुग्दा शोभायात्राको पछिल्लो भाग भने सुभारम्भ स्थानमा नै रहेको थियो । आजको उद्घाटन कार्यक्रममा ५० हजार बढी दर्शकहरुको सहभागीता रहेको मूल समितिले बताएको छ ।
सभागृह निर्माण गर्ने उदेश्य लिईएको महोत्सवमा २० करोडको कारोबार गर्ने लक्ष आयोजकले लिएको छ । ५ लाख दर्शकले मेलाको अवलोकन गर्ने आयोजकको लक्ष छ । तीन सय ५० स्टल रहेको महोत्सवमा स्थानीय उत्पादनलाई बढि प्राथमिकता दिईएको छ । यस्तै हस्तकलाका सामाग्रीलाई पनि प्राथमिकता दिईएको छ । राप्तीका पर्यटकीय क्षेत्रको परिचय बिस्तार गर्नका लागि त्यस्ता क्षेत्रको भ्रमणको व्यवस्था समेत महोत्सवमा मिलाईएको छ । राप्तीका पर्यटकीय क्षेत्रको अवलोकनका लागि हेलिकोप्टर उडानको व्यवस्था आयोजकले मिलाएको छ । घोराही बजारको अवलोकनकालागी ५ हजार १ सय, दाङ उपत्यका अवलोकनकालागी ७ हजार ५ सय, स्वर्गद्धारी मन्दिरकालागी १० हजार ९ सय ९९, रुकुमको स्यार्पु तालकालागी ३४ हजार ५ सय ५५ र मुगुको रारा तालकालागी ५८ हजार ८ सय ८८ प्रतिव्यक्ती हेलिकोप्टर भाडा निर्धारण गरिएको छ । यसैगरि मेलाको अर्को आकर्षणमा प्याराग्लाईडिङ समेत रहेको छ । शुक्रवार देखिनै दाङको आकाशमा प्यामराग्लाईडिङ उड्न सुरु भैसकेका छन् । जिल्लाको लक्ष्मिपुर गाविसको सवरीकोटा डाँडाबाट प्रायाग्लाईडिङ उडानको व्यवस्था मिलाईएको छ । जिल्लामा प्याराग्लाईडिङको परिक्षण उडान केहि बर्ष अघि गरिएको भएपनि व्यवसायिक हिसावले यहाँ प्याराग्लाईडिङको उडान भएको यो पहिलो हो । प्याराग्लाईडीङकालागी ५ वटा प्याराग्लाईडिर दाङ आएका छन् । प्याराग्लाईडिङकालागी ५ हजार ५ सय रुपैयाँ भाडा निर्धारण गरिएको छ । यसैगरि जिल्लामै पहिलो पटक दंगालीहरुले ‘रेस्लीङ’ समेत हेर्न पाउने भएका छन् । महोत्सव आयोजकले महोत्सव अवधिको तीन दिन रेस्लीङ प्रदर्शन गर्ने भएको छ । आयोजकका अनुसार २७ देखि २९ गते सम्म यसको प्रदर्शनि हुने छ । जसकालागी २ जना महिला खेलाडी सहित १२ जना खेलाडीहरुको समुह दाङ आउने छ । यस्तै राष्ट्रिय तथा स्थानीय स्तरका कलाकारहरुको प्रस्तुती सहितको बृहत सांस्कृतिक कार्यक्रम समेत राखिएको छ । प्रशान्त तामाङ,प्रमोद खरेल लगाएतका राष्ट्रिय कलाकार देखि स्थानीय पहिचान झल्कने सांस्कृतिक प्रस्तुतीहरु रहने आयोजकले वताएको छ । यसका साथै मध्यपश्चिम क्षेत्र स्तरिय लोकदोहोरी गीत प्रतियोगीता, दाङ जिल्ला विद्यालय स्तरिय लोकनृत्य प्रतियोगीताको आयोजना समेत गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक तथा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष हेमराज बन्जाडेले वताउनुभएको छ ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी दिपक काफ्ले, नेपाली कांग्रेस दाङका कोषाध्यक्ष सावित्रा राना, नेकपा एमालेका वैकल्पीक केन्द्रिय सदस्य मेटमणी चौधरी, मध्यपश्चिम उद्योग वाणीज्य संघका अध्यक्ष पदमबहादुर शाही, पुर्व सांसद सांसद कुवेर वली, एनेकपा माओवादीका उपाध्यक्ष निर्मल आचार्य, नेपालगञ्ज उद्योग वाणिज्य संघका कृष्णप्रसाद श्रेष्ठ, गढवा उद्योग वाणिज्य संघका अध्यक्ष युवराज पोख्रेल, देउखुरी उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकर घिमिरे, तुलसीपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष बिरु रावत रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष, राष्ट्रिय लोकदोहरी प्रतिस्ठा केन्द्रका अध्यक्ष चन्द्र शर्मा, नेपाल राष्ट्रिय यातायात व्यवसायि महासंघका राप्ती अञ्चल संयोजक भरतनाथ योगी, रोल्पा उद्योग वाणिज्य संघका अध्यक्ष वालककृष्ण सुवेदी, नेकपा मालेका पोलिटव्यूरो सदस्य गोविद केके, राप्रपा क्षेत्र नं ३ का अध्यक्ष त्रिभुवन थापा, राष्ट्रिय जनमुक्ति र्पािर्टका ठाकुरा रोका, सदभावना पार्टिका ओमप्रकास गुप्ता, नेपाल कम्युनिस्ट पार्टिका अध्यक्ष तुलसा केसी, आमा पार्टि नेपालका गुरुप्रसाद गौतम, अखण्ड नेपाल पार्टिका अध्यक्ष दलबहादुर वली, संघीय लोकतान्त्रीक राष्ट्रिय मञ्चका पहलमान चौधरी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष रेशम विसी, संघीय अधिकार फोरम लोकतान्त्रीकका विन्तीराम यादव, संघिय लोकतान्त्रीक थरुहटका शरण थारु पत्रकार महासंघ दाङकी उपाध्यक्ष लक्ष्मी आचार्य लगाएतले शुभकामना मन्तवय राखेका थिए । महोत्सवका सहसंयोजक खड्गबहादुर वुढाथोकीले स्वागत गर्नुभएको थियो भने अर्का सहसंयोजक नारायण भुषालले गर्नुभएको थियो । कार्यक्रमको सहजिकरण उद्योग वाणीज्य संघका महासचिव दिपक सुवेदी र सचिव शुसिल प्रकास आचार्यले गर्नुभएको थियो । महोत्सव उद्घाटन कार्यक्रममा गायक यादव योगी र देवेन्द्र बस्नेतले ‘मेरो दाङ मेरो देउखुरी’ बोलको गीतबाट स्वागत गर्नुभएको थियो भने स्वागत नृत्यका रुपमा मयुर नाच प्रस्तुत गरिएको थियो । त्यस अवसरमा गायक चन्द्र शर्माले गित प्रस्तुत गर्नुभएको थियो भने साहितइकार डा. लोकराज पराजुलीले आफ्नो रचना वाचन गर्नुभएको थियो । महोत्सवमा भोली देखी भव्य सांस्कृतिक कार्यक्रम हुने छ । भोली मोडलहरु शंकर विसी र पार्वती राई, गायिका तथा मोडल संझना लामिछाने मगर, गायक सुनिल गिरी लगायतका कलाकारहरुको प्रस्तुती रहने छ । कार्यक्रमको सहजिकरण हास्य कलाकर राजा राजेन्द्रले गर्ने सास्कृति उपसमितिका संयोजक श्रीधर धितालले जानकारी दिएका छन् ।
Read more at: http://hamrosagarmatha.com/?p=787
© 111Copyright 2016. All Rights Reserved. Dang Chamber of Commerce and Industry